२०८१ पौष ८, सोमबार | Mon, 23, Dec, 2024

कोशी प्रदेश टी-१० क्रिकेटको उपाधि वाईआरसीसीलाई

  • २०८० श्रावण २२, सोमबार मा प्रकाशित १ साल अघि
  • २१ जेठ, विराटनगर । प्रथम कोशी प्रदेश दिवा-रात्रिकालीन टी-१० क्रिकेट प्रतियोगितामाको उपाधि वाईआरसीसी विराट ब्लास्टर्सले जितेको छ ।

    विराटनगर महानगरपालिका–६ नम्बर वडाको आयोजनामा आइतबार सम्पन्न भएको फाइनलमा एनबीएससी लायन्सलाई १० विकेटले हराउँदै वाईआरसीसीले उपाधि जितेको हो ।

    जितसँगै वाईआरसीसीले नगद ५ लाख रुपैयाँ जितेको छ । उपविजेता बनेको एनबीएससीले २ लाख रुपैयाँमा चित्त बुझायो ।

    एनबीएससीले दिएको १०६ रनको लक्ष्य वाईआरसीसीले ८.१ ओभरमा विना विकेटको क्षतिमा पूरा गर्‍यो ।

    वाईआरसीसीका ओपनर खेलाडी देव खनालले आक्रमक ब्याटिङ गरे । उनले २२ बलमा अर्धशतक पूरा गर्दै अविजित ५६ रनको योगदान दिए । उनले ३ छक्का र ७ चौका प्रहार गरे ।

    विनोद खनालले २७ बलमा ४४ रन बनाए । उनले ४ छक्का र ३ चौका प्रहार गरे ।

    यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको एनबीएससीले निर्धारित १० ओभरमा ५ विकेट गुमाउँदै १०५ रन बनाएको थियो । जसमा सन्तोष कार्कीले ६ बलमा १६ रन बनाए । मिनाश थापाले १८ बलमा २४ रनको पारी खेल्दा सुभ कंस्कर ७ बलमा १७ रन बनाए । भीम सार्कीले ३ बलमा १० रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन् ।

    वाईआरसीसीका बलर भुलावान सहनीले २ विकेट,  हेमन्त धामी, विपिन खत्री र रासिद खानले समान एक/एक विकेट लिए ।

    प्रतियोगिताको प्लेर अफ द म्याच वाईआरसीसीका देव खनाल घोषित भए । एनबीएससीका सन्तोष कार्की प्लेर अफ द सिरिज भए । उनले प्रतियोगिता भरी २८८ रन बनाएका छन् । उनले नगद २५ हजार पाए ।

    प्रतियोगिताको तेस्रो विराटनगर प्यान्थर्स भएको छ । विराटनगरले विराटनगर  स्पोर्टिङलाई ८६ रनले पराजित गरेको हो ।

    जितसँगै विराटनगर प्यान्थर्सले नगद १ लाख रुपैयाँ पाएको छ । चौथो भएको विराटनगर स्पोर्टिङले ५० हजार पायो ।

    तेस्रो पोजिसनको लागि भएको खेलमा विराटनगरले निर्धातिर ओभरमा ४ विकेट गुमाउँदै १५७ रन बनाएको हो । जसमा सोनु अन्सारीले २६ बलमा ५० रन बनाए । दिलीप नाथले १५ बलमा ४८ रन पारी खेल्दा समिर कार्कीले १२ बलमा अविजित ३७ रन बनाए ।

    विराटनगर स्पोर्टिङका बलर सुनिलले २ विकेट, प्रशान्तले १ विकेट लिए ।

    विराटनगरले दिएको १५७ रनको लक्ष्य पछ्याएको विराटनगर स्पोर्टिङले १० ओभरमा ५ विकेट गुमाउँदै ७१ रन मात्रै बनायो । जसमा हरिस यादवले २३ बलमा अविजित ३९ रन बनाए । रितिक कामतले २१ रन बनाए ।

    विराटनगरका बलर रिजन ढकाल र विसार अहमदले समान दुई/दुई विकेट लिए ।

    गत सोमबारदेखि सुरु भएको प्रतियोगितामा ७ वटा क्लबको सहभागिता रहेको थियो ।

    विजेता हुने टिमलाई विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला, विराटनगर ६ का वडाअध्यक्ष अक्षय सहनीलगायतले पुरस्कार वितरण गरे ।

    प्रतिक्रिया दिनुहोस