२०८१ पौष ८, सोमबार | Mon, 23, Dec, 2024

टी-२० विश्वकपमा दक्षिण अफ्रिकाको विजयी सुरुआत

  • २०८० श्रावण २२, सोमबार मा प्रकाशित १ साल अघि
  • २२ जेठ, अमेरिका । दक्षिण अफ्रिकाले आईसीसी टी-२० विश्वकप २०२४ मा समूह डी को पहिलो खेलमा श्रीलंकालाई ६ विकेटले हराउँदै विजयी सुरुआत गरेको छ ।

    ७८ रनको सामान्य लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १६.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । ब्याटिङका लागि कठिन पिचमा दक्षिण अफ्रिकाले उक्त लक्ष्य भेट्याउन संघर्ष गरेको थियो ।

    दक्षिण अफ्रिकाका हेनरिक क्लासेन २२ बलमा १ चौका र १ छक्कासहित १९ रनमा नट आउट रहे । क्विन्टन डी ककले २७ बलमा १ चौकासहित सर्वाधिक २०, रिजा हेन्ड्रिक्स ४, एडेन माक्ररम १२, ट्रिस्टन स्टब्स १३ र डेविड मिलरले ६ रन बनाए ।

    श्रीलंकाका कप्तान वानिन्दु हसरंगाले २, दासुन शानका र नुवान थुसराले एक/एक विकेट लिए ।

    त्यसअघि नासौं काउन्टी इन्टरनेशल क्रिकेट स्टेडियम न्यूयोर्कमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका १९.१ ओभरमा ७७ रनमा अल आउट भएको थियो ।

    श्रीलंकाका एन्जिलो म्याथ्युजले १६ बलमा २ छक्कासहित १६ रन बनाए । कुशल मेन्डिसले ३० बलमा १ चौकासहित सर्वाधिक १९ र कामिन्दु मेन्डिसले ११ रन बनाए । श्रीलंकाका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    दक्षिण अफ्रिकाका तीव्र गतिका बलर एनरिच नोर्कियाले ४ ओभरमा ७ रन खर्चेर ४ विकेट लिए । कागिसो रबाडा र केशव महाराजले दुई/दुई विकेट लिएका थिए ।

    समूह डी को दोस्रो खेलमा मंगलबार ग्राण्ड प्रेरी रंगशाला डालसमा नेपाल र नेदरल्यान्ड्सबीच राति ९:३० मा सुरु हुनेछ ।

    प्रतिक्रिया दिनुहोस