२०८१ पौष ८, सोमबार | Mon, 23, Dec, 2024

नेदरल्याण्ड्ससँग नेपाल पराजित

  • २०८१ जेष्ठ २३, बुधबार मा प्रकाशित ६ महिना अघि
  • २२ जेठ, काठमाडौं ।  आईसीसी टी२० विश्वकप २०२४ अन्तर्गत समूहको आफ्नो पहिलो खेलमा नेपाल  नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको छ ।

    नेपालले दिएको १०७ रनको लक्ष्य नेदरल्याण्ड्सले १८.४ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । नेदरल्याण्ड्सका लागि ओपनर म्याक्स ओ’डाउडले अविजित रहँदै सर्वाधिक ५४ रन बनाए । ४८ बल खेलेका उनले  ४ चौका र १ छक्का प्रहार गरे । यस्तै विक्रमजित सिंहले २२ र साएब्रान्ड एंगलब्रेक्टले १४ रन जोडे । बास डे लिडले अविजित ११ रन बनाए ।

    नेपालका लागि सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र अभिनाश बोहराले समान एक विकेट लिए ।

    त्यसअघि डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर १०६  रन बनाएको हो ।

    एक दशकपछि दोस्रो पटक टी २० विश्वकप खेलिरहेको नेपालले पहिलो खेलमा राम्रो सुरुवात गर्ने लक्ष्य राखेको थियो । तर एसोसिएट क्रिकेटकै बलियो टोली नेदरल्याण्ड्स विरुद्धको नेपालको ब्याटिङ राम्रो हुन सकेन ।

    चार खेलाडीले मात्र दोहोरो अंकमा रन बनाएको नेपालको लागि कप्तान रोहित पौडेलले ३७ बलमा सर्वाधिक ३५ रन बनाए । उनले ५ चौका प्रहार गरे । रोहितले एक छेउबाट इनिङ्स सम्हाल्ने प्रयास गरेपनि गतिलो साथ पाउन सकेनन् ।

    लोअर अर्डरमा करण केसीले १२ बल खेल्दै २ छक्का मदतमा १७ रन जोडे । गुल्सन झाले १५ बलमा १ छक्का प्रहार गर्दै १४ तथा अनिल शाहले १२ बलमा २ चौका मदतमा ११ रन जोडे ।

    नेपालका लागि दोस्रो पटक टी २० विश्वकप खेल्ने एक मात्र खेलाडी सोमपाल कामी शून्यमा आउट भए । अन्तिम विकेटका रुपमा आउट भएका अभिनाश बोहराले पनि खाता खोल्न सकेनन् ।

    नेपाललाई अलआउट गर्न बलिङमा नेदरल्याण्ड्सका लागि टिम प्रिन्जल र लोगन भान विकले समान ३ तथा पउल भान मिकेरन र बास डे लिडले समान २ विकेट लिए ।

    प्रतिक्रिया दिनुहोस